दमन रुपाखेतीका थेगा / कुन छ त चर्चित !

हास्य अभिनेता दमन रुपाखेती आफ्ना टेलिशृंखलामा वेला–वेला फरक–फरक थेगो बोल्ने गर्छन् । उनका थेगा दर्शकमाझ लोकप्रिय पनि छन् । ‘थेगोले सिरियलमा रौनक थप्छ,’ उनी भन्छन्, ‘पात्र र परिवेशअनुसार मिल्ने गरी थेगो राख्ने गरेको छु ।’ पछिल्लो समय नेपाल टेलिभिजनमा उनको हास्य टेलिशृंखला पक्कापक्की (पहिला हाक्काहाक्की) प्रसारण भइरहेको छ । हाल ७१औँ भाग प्रसारण भइरहेको सिरियलले विशेषगरी ग्रामीण दर्शकलाई लक्षित गरेको छ । सो सिरियलमा दमन काका चरित्र निर्वाह गरेका उनले कि खा’काले खान्छन् कि खान नपा’काले खान्छन् भन्ने थेगो बोल्छन् । यो थेगो अहिले चर्चित छ । 



कसरी जन्मिएको थियो त यो थेगो ? दमन सम्झन्छन्, ‘कार्यक्रमको सिलसिलामा कुनै गाउँमा गएका थियौँ । एउटा चिया पसलमा चिया खान बस्यौँ । त्यहाँ एकजना बुढाबाले भने– कि खा’काले खान्छन्, कि खान नपा’काले खान्छन्, खानैपर्‍यो बा । मलाई ती बुढाबाको त्यो कुरा मन पर्‍यो । पछि, सिरियलमा हालेँ ।’ पक्कापक्कीको एघाराैँ भागदेखि मात्रै यो थेगो बोल्न थालेको उनी बताउँछन् । अहिले आफूले प्रयोग गर्ने थेगो दर्शकमाझ चर्चित भएकोमा उनी दंग छन् । ‘म जहाँ जान्छु, मलाई चिन्ने दर्शकले यही थेगो बोलेर सम्बोधन गर्ने गरेको पाएको छु,’ दमन भन्छन्, ‘त्यतिवेला कलाकार भएकोमा गर्व महसुस हुन्छ ।’ दमनले मेरी बास्सैमा बोल्ने गरेको थेगो ‘लास्टाँ त्यही’ पनि चर्चित थियो । त्यो थेगोमा चाहिँ जीवन भोगाइ झल्कने उनी बताउँछन् । ‘हामी तेरो, मेरो भन्दै जतिसुकै तानातान गरे पनि लास्टाँ त्यही हो,’ उनी भन्छन्, ‘भन्न खोजेको हामीले जे गरे पनि अन्तिममा सबै छाडेर जानैपर्छ भन्ने अर्थ हो त्यसको । दर्शकले मन पराउनुभएको थियो ।’ आफ्नो ‘मलाई त अचम्म लाग्छ । तपार्इंलाई अचम्म लाग्या छैन’ भन्ने थेगोले पनि दर्शकलाई मनोरञ्जित गराएको अनुभव यिनको छ । यिनको पहिलाको हास्य टेलिसिरियल झ्याइँकुटी झ्याइँमा हे सिटामल भन्ने थेगो थियो । त्यो थेगो भने आफू धेरै औषधि खाइरहने भएकाले कसोकसो फुरेको उनी बताउँछन् । ‘कहिले टाउको दुख्छ, कहिले रुघा लाग्छ । कहिले खुट्टा दुख्छ, के–के भइरहन्छ । त्यसैले म औषधि खाइरहन्छु । त्यही सन्दर्भमा हे सिटामोल बोल्न थालेको हुँ,’ उनले भने । आफूले जन्माएका थेगा चर्चित हुँदा सफल भएको अनुभूति लाग्छ रे दमनलाई । नयापत्रिका बाट 

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |