"हामी गैंडा भन्थ्यौं नारायण गोपाललाई "– चेतन कार्की

नारायण गोपाललाई हामी गैंडा भन्थ्यौं । उनी अलि एकोहोरो स्वभावका थिए । त्यसैले हामीले उसलाई गैंडा भन्थ्यौं। २०२५ सालमा चेतना फिल्मको लागि गीत रेकर्ड गर्न हामी भारतको कोलकतामा थियौं । पर्सिजस्तो रेकर्डिङ थियो । बिहानै मेरोमा डाइरेक्टर आए, डाइरेक्टरले मलाई हिन्दीमा त्यो गैंडा त नेपाल फर्कन्छु भन्दैछ भनेर आत्तिएर सुनाए । 

त्यो चलचित्रमा तारादेवी र मिरा राणाको एकल गीत थियो । नारायण गोपालको थिएन । त्यही भएर रिसले उनी काठमाडौं फर्कन्छु भनेका रहेछन् । डाइरेक्टरले नारायण गोपाललाई रोक्नकै लागि गीत रच्न मलाई भने । मैले हिन्दीमै कहाँ मिल्छ त्यसरी, किन फर्कन्छ रे भनेपछि डाइरेक्टरले भने “एकल गीत नभएकाले ऊ फर्कन लागेको हो । लौन जसरी पनि एउटा गीत लेख्नुप¥र्यो ।” ए बाबा, बिना कुनै प्रसँग कसरी गीत लेख्नु ? डाइरेक्टरले कतै पार्टीको सिन बनाएर गीत बजाइदिउँला भनेपछि म गीत लेख्न गएँ । यसो सोचें डाइरेक्टरको भाव अनुसार त गीत लेख्नुपर्यो । मैले मेरै एउटा हिन्दी कवितालाई नेपालीमा उल्था गर्ने विचार गरें । त्यसैलाई गीत बनाइदिएँ । 
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरौं
मुटुमुटुमा प्रित बनि भरिन सक्छु म  
अधरअधरमा गीत बनी छरिन सक्छु म
दोहोर्‍याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौं
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरौं
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई 
यो गाना मैल लेखेें, दोहोर्‍याए, तेहेर्‍याएँ, मलाई चित्त बुझ्यो त्यसपछि हामी डाइरेक्टरकोमा गयौं । डाइरेक्टरले मन पराए । त्यो दिन बेलुकी संगितको सिटिङमा बस्यौं । सबैले भाग लिएपनि नारायण गोपालले सक्रियता देखाएनन् । नगरेपछि सिटिङ सक्कियो । पर्सि त रेकर्डिङ थियो । हामी सबै उठ्यौ ।
नारायण गोपालले म पनि जान्छु भनेपछि डाइरेक्टरले सोलो गाना नै गाएको छैन । प्राक्टिस गर्नुपर्दैन ? चेतन अहिलेसम्म गीत दिएको छैन भनेपछि मैले उ त कहाँ यहा बस्छ त ? नेपाल फर्कन लागेको मान्छे । भन्ने बित्तिकै नारायण गोपालले –“ए चेतन सोलो गीत छ भनेर मलाई भन्नु पर्दैन ? बडो खुसी हुँदै सोध्यो । त्यसपछि मैले गति दिएँ । उसले निकै खुसी भएर गीत गायो । नारायण गोपालले दुईपल्ट गाएपछि कोठामा गएर रियाज गर्छु भन्यो ।
हामी कोलकतातिर घुम्न गयौं । उ कोठामा गयो । त्यसपछि अर्को दिन रेकर्डिङ सुरु भयो । डाइरेक्टरले कुन गीत पहिले रेकर्ड गर्ने भनेपछि मैले बोल्न नपाउँदै नारायण गोपालले उफ्रिएर चेतन मेरो निकै मुड छ । पहिले मेरै गीत गाउने भन्न भनेपछि सबैभन्दा पहिले त्यही गीत रेकर्ड गर्यौं । एकपल्टमै राम्रो रेकर्ड भएपनि उसले अर्कोपल्ट पनि गाउँछु भनेपछि फेरि रेकर्ड गरायौं । दुईवटै ओके भयो तर चलचित्रमा कुन बज्यो त्यो मैले आजसम्म पनि थाहा पाएको छैन । 
मैले नारायण गोपाललाई अप्रत्यक्ष रुपले त उसको गीत सुनेर नै चिनेको हुँ । प्रत्यक्ष रुपमा चाहिँ ०२०/०२१ सालदेखि चिने –“सूचना विभागले बनाउन लागेको चेतना भन्ने चलचित्रमा लेखक, गीतकार, डायलग लेखक र चिफ असिस्टेन डाइरेक्टरको रुपमा म अनुबन्धित भएँ, हामी त्यसको सबै छलफल होटल रोयलको ३० नम्बर कोठमा गर्‍थ्यौं, नारायण गोपाल पनि त्यहि आउँथे । हामी सबै मिलेर गीत छान्ने काम गथ्र्याैं ।” हाम्रो मित्रता प्रगाढ भएको नै त्यहीँदेखि हो । 
नारायण गोपाललाई जति राम्रो स्वर र संगीतप्रतिको समर्पण दिएको थियो भगवानले । त्यत्ति नै उत्कृष्ट स्वाभिमान पनि थियो । उनले कहिल्यै गीत छनौटमा कम्परमाइज गरेनन् । आउरे, बाउरे, चाउरे गीतमा कहिल्यै स्वर पनि दिएनन् र संगीत पनि दिएनन् । त्यसैले उनले गाएका सबै गीत मन नछुने र हिट नभएका गीत छैनन् । उनका गीत उत्कृष्ट छन् । 
उनी साहित्यमा पनि निकै रुची राख्ने मान्छे । बागिना नामक साहित्यिक पत्रिका उनले सम्पादन पनि गरे । बागिनाको अर्थ बाजा, गीत र नाच हो । उनी हरेकपल्ट कम्तिमा पनि तीन पटकसम्म गीतको शब्द पढ्थे । पढ्दा भावले छोए मात्र गीत गाउछु भन्थे तर भाव, बोली वा शब्द नै मन नपरे कुनै पनि हालतमा गीत गाउँदैनथे । मन नपर्ने, मन नछुने गीत त गाएकै छैनन् । मन नपर्ने म्यूजिक डाइरेक्टरलाई पनि वास्तै नगर्ने स्वभावका थिए उनी । उनी स्वाभिमानी थिए । अभिमानी होइन । स्वाभिमान र अभिमानमा फरक छ । 

केही वर्षपछिको अर्को एउटा रमाइलो प्रसँग 

नारायण गोपाललाई म त लालिगुँरास भएछु बोलको गीत गाउन लगाएका दिब्य खालिङले चेतना फिल्मका लागि उनले गाएको मेरो गीत
“बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरौं
मुटुमुटुमा प्रित बनि भरिन सक्छु म  
अधरअधरमा गीत बनी छरिन सक्छु म
दोहोर्‍याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौं
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरुले लाएर के गरौ
सेतो बादल जस्तो निरस यो जिन्दगीलाई ”

निकै मन परेको उनले सुनाए । अनि मैले –” त्यतिबेला पेमलासँग नारायण गोपालको प्रेम सम्बन्ध थियो । त्यही क्रममा डेटिङमा दार्जलिङ जान्थ्यो, अनि  मेरो यहि गीत गाएर त पेमलालाई फकाएको हो” भनेर मैले गफ लगाइदिएँ । दिब्य खालिङले पनि पत्यायो । बास्तवमै मैले गफ लगाएको थिएँ तर पछि त्यही रेकर्डिङ पछि उनीहरुको विवाह पनि भयो । 
नारायण गोपाल प्रकृतिले दिएको एउटा अनुपम बरदान हो नेपालको लागि । राज्य व्यवस्थाले नारायण गोपाललाई जति गर्नुपर्ने हो त्यो गर्यो, गरेन त्यो त मलाई थाहा भएन । तर नागरिकले उनलाई हृदयमा राखेका थिए, राखेका छन् र राखिरहने छन् । जवसम्म विद्युतीय तरंग रहन्छ, नारायण गोपाल अजर, अमर, अनुपम र अविष्मरणीय छन् । 

(वरिष्ठ साहित्यकार, चलचित्रकर्मी र संस्कृतीकर्मी चेतन कार्कीसँग सजना तिमल्सिनाले गरेको कुराकानीमा आधारित )

Share this:

Post a Comment

 
Copyright © TiK Tok Nepal. Designed by OddThemes |